काठमाडौँ, ३१ जेठ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वार्ता र संवादमार्फत वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ ।
सञ्चार मन्त्रालयले आज आयोजना गरेको ‘आम सञ्चार नीति : सवाल तथा आगामी कायैदिशा ’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री राईले संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै अबको एजेन्डा आर्थिक एजेन्डा बन्नुपर्ने बताउनु भयो ।
नँया संबिधानले सबै समुदाय र वर्गको अधिकार सुनिश्चित गरेको दाबी गर्दै मन्त्री राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई समृद्ध आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागी सबै दल मिल्नुको विकल्प नभएको राईको भनाई छ ।
उच्चस्तरीय मिडिया समितिले तयार गर्न लागेको सञ्चार नीतिले आम सञ्चार माध्यमलाई थप व्यवस्थित र जिम्मेवार बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आमसञ्चार तथा मिडियासम्बन्धी नीति बनाउने उद्देश्यले २०७२ साल माघ २० गते गठन गरिएको उच्चस्तरीय मिडिया सुझाव समितिले यही जेठ १० गते २१ बुँदे प्रारम्भिक प्रतिवेदन सूचना तथा सञ्चारमन्त्री शेरधन राईसमक्ष प्रस्तुत गरेको थियो ।
करिब १०० बुँदामा तयार गरिएको पूर्ण प्रतिवेदन अबको केही दिन भित्रमै सार्वजनिक गरिने समितिले जनाएको छ । समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि सञ्चार क्षेत्रका विज्ञहरूको सहभागितामा छलफलको आयोजन गरिएको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
पूर्ण प्रतिवेदनका निम्ति अझै समय रहेको हुँदा प्रारम्भिक प्रतिवेदनका आधारमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने समितिले जनाएको छ ।