काठमाडौँ ,३० जेठ ।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले भूगोलले मात्र देश नबन्ने बताउदै राजनीतिक अधिकारले जनतालाई सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले भौगोलिक एकीकरणले घरको जग निर्माण भएको लोकतान्त्रिकरणले पिलरको काम गरेको र अब भित्ता र छानु हाल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाले देश विकासका लागी अर्जुन दृष्टि हुनुपर्ने चर्चा गर्दै त्यो आफुसँग मात्रै भएको दाबी गर्नुभयो । आजको नेपाललाई आर्थिक समृद्धि र विकासमा लान अर्जुन दृष्टि लगाउनुपर्ने बताउनु भयो । महाभारतको कथालाई जोडेर देश विकासको अर्जुन दृष्टि आफूसँग मात्र भएको उहाले दाबी गर्नुभएको हो ।
‘भित्ता र छानो हाल्न नसकेसम्म देश बन्न नसक्ने भन्दै उहाले यिनै कुरालाई केन्दैमा राखेर नयाँ शक्ति घोषणा गरेको बताउनु भयो । त्यस्तै, बाबुरामले पृथ्वीनारायण शाहदेखि भीमसेन थापासम्मले भौगोलिक एकीकरण गरेको देशलाई अब आफुले सुनको छाना र गजुर हालेर सुन्दर बनाउने बताउनु भयो ।
भट्टराईले भन्नुभयो , ‘भौगोलिक रुपमा एकीकरण भएको घरमाथि सुनको छाना र सुनको गजुर हालेर सुन्दर नेपाल बनाउनु पर्छ । त्यसका लागि नयाँ शक्ति घोषणा भएको छ ।’
बाबुरामले निर्वाचन आयोगमा संख्या थप्न मात्र पार्टी घोषणा नभएको समेत स्पष्ट पार्नुभयो । ‘निर्वाचन आयोगमा १८० पार्टी छन् । नयाँ शक्ति नेपाल थप १ पार्टी मात्र होइन् । यो वैकल्पिक सोच र संस्कृतिको एक अभियान हो,’ बाबुरामले भन्नुभयो ।
सार्वजनिक स्थलमा हजारौँको उपस्थितिका बीच पार्टी घोषणा संसारमा कतै नभएको चर्चा गर्दै भट्टराईले नयाँ शक्ति घोषणामा साक्षी बस्न पाउने सबै भाग्यमानी भएको बताउनु भयो ।
उहाले युवालाई देशमा रोजगारी दिन नसके राष्ट्रियता नरहने भन्द युवाहरुलाई देशमा रोजगारी दिन नसके राष्ट्रियता खतरामा पर्नेभएकाले आफुले रोजगारीको गरि युवालाई बिदेश पलायन हुनबाट रोक्ने बताउनु भयो ।