काठमाडौ २९ जेठ ।
आयोजक फ्रान्सले युरोकप फुटबलमा बिजयी सुरुवात गरेको छ । गएराती आफ्नै भुमीमा उसले रोमानियालाई २–१ ले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको हो ।
पेरिसस्थित स्टेड–डी फ्रान्स स्टेडियममा भएको खेलमा पहिलो हाफ दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । रोमाञ्चक खेलको ५७औ मिनेटमा ओलिभर जिराउडले फ्रान्सको खाता खोलेका थिए ।
जिराउड जारी युरोकपमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । तर त्यसको ८ मिनेटपछि रोमानियाले पाएको पेनाल्टिको अबसरलाई सदुपयोग गर्दै बोग्डान स्टेन्कुले गोल गरेपछि खेल एकएकको बराबरीमा पुग्यो ।
त्यसपछि खेलको निर्धारित समय सकिन १ मिनेट बाँकि छदाँ फ्रान्सका दिमित्री पेयेटले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । फ्रान्सका पेयेट म्यान अफ दि म्याच घोषित भए ।
जितसंगै फ्रान्स चार राष्ट्र रहेको समुह एको शिर्ष स्थानमा छ । फ्रान्सले आफ्नो दोश्रो खेलमा आगामी असार १ गते अल्बानियासंग प्रतिस्पर्धा गर्नेछ ।