जेष्ठ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी भन्दा बढीको जग्गा आफु मातहत ल्याउन सरकारलाइ निर्देशन दिएको छ । भूमि सुधार ऐन २०२१ ले तोकेको हदबन्दी भन्दा बढी लुकाई राखेको जग्गा नेपाल सरकारका नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो ।
जग्गा सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन गठित समितिले तराईमा ५ हजार २ सय २३ विगाहा र पहाडमा ६ हजार २ सय ६५ रोपनी जग्गा लुकाएको तथ्य फेला परेको भन्दै अख्तियारले सो जग्गा आफ्नो नाममा ल्याउन मन्त्रालयलाई पत्र पठाएको हो ।
अख्तियारले आज जारी गरेको विज्ञप्तीमा समितिले नेपालभर ३८ जिल्लामा हदबन्दी भन्दा बढी जग्गा लुकाएर राखेको तथ्य फेला परेको र यो तथ्यांक भने २९ जिल्लाको मात्र भएको उल्लेख गरेको छ ।
यस्तै, जग्गा अतिक्रमण सम्बन्धि रामबहादुर रावल आयोगले बुझाएको प्रतिवेदन २१ बर्षसम्म पुर्ण रुप्म कार्यान्वयन नभएको भन्दै अख्तियारले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो आयोगले काठमाडौं महानगरपालिका भित्रको करिब १ हजार ८ सय रोपनी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदन तयार पारेको थियो ।