काठमाण्डौ,२६ जेठ ।
नेपाल भ्रमणमा रहेका बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र डिएफ आइडीका सचिव मार्क लोककले आज प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटि संबिधान कार्यान्वयनका बिषमा चासो राखेका छन् ।
साईमन र मार्कले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संविधानको कार्यान्वयनबारे चासो राख्नुभएको हो ।
भेटवार्तामा बेलायती प्रतिनिधिले, संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी र आदिवासी जनजाति सम्बद्ध केही दलले गरिरहेको आन्दोलन बारेमा पनि चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र असन्तुष्ट दलहरुलाई उनीहरुका मागका सम्बन्धमा छलफलका लागि सरकारले वार्ताको आव्हान गरेकोले छिट्टै समस्याको समाधान हुने आश्वासन दिनुभएको थियो ।
बेलायती सचिवद्वयले प्रधानमन्त्री ओलीसँग नेपालको आर्थिक विकासका योजनाबारे पनि चासो राख्दै नेपाल आर्थिक रुपमा सम्पन्न होस् भन्ने बेलायती चाहना रहेको र पुरानो मित्रका नाताले त्यसका लागि सहयोग गर्न इच्छुक रहेको भन्दै लगानीको सुरक्षाका बारेमा जिज्ञासा राख्नुभएको जनाईएकोछ ।
नेपालसँग दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष पुगेको अवसरमा नेपाल आएका बेलायती सचिवद्वयले अन्य विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।