काठमाडौं,२५ जेठ ।
वरिष्ठ संगीतकार अम्बर गुरुङको उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको छ ।
राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो ।
को हुन् अम्बर गुरुङ
वरिष्ठ संगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।
तीन छोरा : किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आई. ए. सम्म मात्र पढेका हुन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सँगीत निर्देशकसमेत रहेका गुरुङ हाल काठमाडौं को महाराजगञ्ज चक्रपथ नजीकै बसोबास
गर्छन् ।
गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत इम अम्बर हुँ’ र ‘सम्हालेर राख’बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। सँगीतकार गुरुङले कोलकाता मा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए- ‘नौ लाख तारा उदाए’। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए ।
राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्याएपछि गुरुङ नेपाल आएर बसे[२] ।
वि.सं. २०२६मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी , मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशी का चार नाटकलगायत माधवप्रसाद घिमिरे को मालती मंगले मा समेत सँगीत दिएका छन् । उनले चलचित्र मनको बाँध , जीवनरेखा मा पृष्ठसँगीत र पार्श्व सँगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसँगीत,स्वर दिएका छन्।