काठमाडौ ,२४ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि सत्ता परिवर्तनका लागि प्रयास सुरु गरिने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बजेट पारित भएपछि विश्वास र समझदारीको आधारमा सरकारको नेतृत्व परिवर्तन गर्ने भनेर यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भद्र सहमति भइसकेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँग गरिएको नौ बुँदे सहमति लिखित रहेको तर भद्र सहमति अलिखित रहने भएकोले सहमति गर्ने पक्षहरु नै भद्र हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।
सहमति गर्ने एक पक्ष आफू भद्र रहेको र प्रधानमन्त्री ओली पनि सहमति अनुसार भद्र रही नेतृत्व हस्तान्तरण गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
आफूलाई बहुमतको प्रधानमन्त्री हुने इच्छा र हतारो नभएको दाबी गर्दै उहाले आफ्नो पार्टी राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको धारणा राख्नु्भयो ।
अध्यक्ष दाहालसहित नेकपा माओवादी केन्द्रका नेताहरु प्रदेश नम्बर ४ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका हुन् ।