रोल्पा, २४ जेठ ।
सल्यानको रिम खालीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यान गर्पा–७ की ९ महिनाकी बालिका सफलता बुढा र त्यही ठाउँकी ७१ वर्षीया बृद्धा मैती घर्ती रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाईते भएका उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको गर्पा द्धारपानीका लागि छुटेको ग १ ज ५५६० नम्बरको जीप सल्यानको रिम–८ खालीमा दुर्घटना थियो ।
गम्भीर घाइते सल्यान गर्पा–९ का ३३ वर्षका भिम रानालाई राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
अरु घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा रोल्पाका १०, सल्यानका पाँच जना र बाँकेका तीन जना रहेको प्रहरीले जनाएको छ ।