कास्कि, २३ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्य कोषमा जम्मा गरेको रकम अहिलेको सरकारले जथाभावी बाँड्न लागेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसले कर संकलन गरी विदेशी सहयोग जुटाएर जम्मा गरेको रकम हालको सरकारले जथाभावी बाड्न खोजेको आरोप लगाउनुभएको हो ।
आज नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दे देउवाले अहिले सत्तामा रहेका दलहरुले आन्तरिक श्रोत परिचालन गरी आम्दानी गर्न नसक्ने र उनीहरुलाई विदेशीले पनि नपत्याउने अवस्था रहेको दावी गर्नुभयो ।
राज्य पुनर्संरचना आयोगको प्रतिवेदन फागुनमा मात्रै आउने भएकोले फागुन अघि स्थानीय निकायको चुनाव सम्भव नभएको र सरकारले मंसीरमा स्थानीय निकायको चुनाव गर्छु भनेर ढाँटेको पनि देउवाले बताउनुभयो ।
यस्तै आज नै पोखरामा भएको दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले अहिलेको सरकारको विरुद्धमा नेकपा एमालेका नेताहरु नै उभिएको बताउनुभएको छ ।
‘माधव नेपाल र झलनाथ खनालले नै ओलीको पालो सकियो भनेर भन्नुभएको छ’ देउवाले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यसबर्ष पोखराका पत्रकार रमेश पौडेललाई दिइएको हो । पुरस्कारको राशी नगद ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।