जेठ २३
तीन पटकका विश्व च्याम्पियन बनेका अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टि समारोह आगामी शुक्रबार हुने भएको छ ।मुहम्मद अलीको परिवारले दिवंगत महान बक्सिङ खेलाडीको अन्त्येष्टिका लागि विश्वभरबाट शुभेच्छकहरुलाई उनको गृहनगर लुइभिल केनटकीमा निम्तो गरेको छ ।
७४ वर्षका उमेरमा निधन भएका अलीको सबै तप्काका मानिसहरु आफ्नो अन्त्येष्टिमा उपस्थित होउन भन्ने चाहना रहेको परिवारका एक जना प्रवक्ताले बताएका छन् ।
महानतम भनेर टिप्पणी गरिने अलीको अन्त्येष्टि खुल्ला ढंगले गरिने अलीका प्रवक्ता बब गनलले जानकारी दिएका छन् । अन्त्येष्टि समारोह लुइभिलमा हुनेछ ।
अन्तिम संस्कार समारोहमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र अभिनेता बिल्ली क्रिस्टल सहितले अलीको प्रशंसामा मन्तव्य दिनेछन्।
उनको निधनले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको जारी अभियानमा समेत राजनीतिक विवाद निम्त्याएको छ।
उनी सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए ।
सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलिले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थालेका थिए ।
उनी सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट् बक्सिङ च्याम्पियन बनेका थिए ।