काठमाडौं, जेठ २३
संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयन तथा छिमेकीसँगको सम्बन्ध सुधारका विषयमा छलफल गर्न आगामी असार ८ र ९ गते काठमाडौंमा सर्वपक्षीय सम्मेलन हुदैछ ।
नेकपा एमालेका पुराना नेता मोहनचन्द्र अधिकारीको संयोजकत्वमा ‘मुक्ति मोर्चा नेपाल’ नामक संस्थाले सम्मेलनको आयोजना गर्न लागेको हो ।
संविधान कार्यान्वयन नगरी नेपाललाई जोगाउन नसकिने भन्दै त्यसका लागि सबैसँग छलफल गरेर समस्याको समाधान खोज्न सम्मेलन गर्न लागिएको अधिकारीले बताउनुभयो ।
बिपी चिन्तन प्रतिष्ठानको व्यवस्थापनमा हुने सम्मेलनमा नेपालमा जारी भएको संविधान कार्यान्वयन र त्यसको चुनौतीका साथै नेपाल–भारत सम्बन्ध सुधारका विषयमा छलफल हुनेछ ।
सम्मेलनमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रमुख दलका नेता, मानव अधिकारवादी र नागरिक समाजका प्रतिनिधिका साथै भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारी पनि सहभागी हुनुहुनेछ ।