काठमाडौ ,२२ जेठ ।
पर्वतको दक्षिण क्षेत्र भोर्ले गाविसमा विषालु च्याउ खाँदा एक बृद्धको मृत्यु भएको छ ।
जंगलबाट ल्याएको च्याऊ पकाएर खाएका भोर्ले –४ हिलेका ६५ वर्षिय बृद्ध देउबहादुर थापाको गएराती मृत्यु भएको हो ।
रातको खाना खाएको केहि बेरपछि बिरामी परेका थापाको राति नै मृत्यु भएको हो ।
यस्तै विषाधी च्याउ खाएर थापाकी १८ बर्षीय छोरी लक्ष्मी थापा, १५ वर्षीय प्रतिमा थापा, १४ वर्षीय ललिता थापा र ३५ वर्षिया वुहारी कोपिला थापा गम्भीर विरामी परेका छन् ।
उनिहरुको अहिले स्याङ्जाको वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैबीच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान अनुरोध गरेको छ ।
महाशाखाले विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट ज्यान जाने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।
महाशाखाले व्यावसायिक रुपमा किसानले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ ।
पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट ज्यान जाने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ ।