काठमाडौ ,२२ जेठ ।
पार्टीको आन्तरिक विवाद समाधान गर्ने सम्बन्धमा छलफल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टीका शिर्ष नेतृत्वबीच बढेको तिक्तताका विषयमा छलफल हुने बताइएको छ ।
सरकार सन्चालनका लागि भएको भनिएको भद्र सहमतिलाई लिएर पछिल्लो समय पार्टीका शिर्ष नेताहरु सार्वजनिक रुपमै टिका टिप्पणीमा उत्रिएपछि छलफलका लागि बैठक बोलाइएको हो ।
सरकार परिवर्तनको भद्र सहमतिलाई लिएर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रुपमै टिका टिप्पणी गर्दै आउनु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका लागि कुनै भद्र सहमति नभएको दावी गरिरहनु भएका बेला वरिष्ठ नेता खनालले भने आफू स्वयम् तयसको साक्षी रहेको भन्दै सरकार परिवर्तनको बेला आएको बताउदै आउनु भएको छ ।
आजको बैठकमा सरकार परिवर्तनबारे शिर्ष नेताहरुको सार्वजनिक अभिव्यक्तिबारे छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकमा पार्टी संगठनलाई प्रादेशिक ढाँचामा लैजाने केन्द्रिय कमिटी बैठकको निर्णयबारेपनि छलफल हुने ज्ञवालीले बताउनु भयो ।