काठमाण्डौ ,२० जेठ ।
आगामी आर्थिक बर्षको राजस्व तथा ब्ययमाथि धारणा राख्न चाहने सांसदहरुको सङख्या बढी भएपछि भोली पनि सैद्धान्तिक छलफल जारी रहने भएको छ ।
ब्यावस्थापिका संसद बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलको क्रम आज नसकिएपछि भोलाी बिहान पुन बाकी सांसदले धारणा राखेपछि अर्थमन्त्री बिष्ष्णु पौडेलले जवाफ दिनुहुनेछ ।
आजको छलफलमा भाग लिने सांसदहरु बजेटको समर्थन र विरोधमा बिभाजित भएका छन् । संसद बैठकमा भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बिभाजित भएर धारणा राखेका छन् ।
आजको बैठकमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री डा प्रकाशशरण महतले बजेट प्राथमिकताविहीन भएको जिकीर गर्नुभयो । बजेटले मूल्यवृद्धि गर्ने र जनतालाई राहतभन्दा आहत दिने बताउनु भयो ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले ४० प्रतिशतभन्दा बढी राजस्वको स्रोत आयात निर्भर भएकाले राजस्व बढाउँछु भन्नु हास्यापद रहेको तर्क गर्नुभयो । उहाले यसबाट परनिर्भरता बढ्ने र सामाजिक भत्तासमेत दिन नसक्ने स्थिति आउने दाबी गर्नुभयो ।
यसैगरी नेकपा एमालेका सांसद गोकर्ण विष्टले केही व्यक्तिलाई मन नपरे पनि बजेट व्यावहारिक र प्रभावकारी रहेको दाबी गर्नुभयो ।उहाले बजेट राम्रो भएन भनेर अतिरञ्जीत तरिकाले प्रचार नगर्न विपक्षी सांसदहरुलाई सुझाव दिनुभएको थियो ।
धरातलीय यथार्थतालाई आत्मसात् गरेर बजेट प्रस्तुत गरिएको भन्दै उहाले भूकम्प प्रभावित जिल्लालाई पुनर्निर्माणमा जोड दिइएकाले पुनःनिर्माणलाई समयमा नै अगाडि बढाउन सकिने बताउनु भयो ।
केही महत्वपूर्ण आयोजना समयमै सुरु गरियो भने त्यसले सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने भन्दै उहाले कृषि, सिँचाइमा दिइएको अनुदान र सामाजिक क्षेत्रलाई दिइएको महत्वले आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।