काठमाण्डौ , १७ जेष्ठ । नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेको संघिय गठबन्धनले रिले अनशनसहितका तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजधानी केन्द्रीत आन्दोलन गरेको गठवन्धनले दोस्रो चरणको आन्दोलनको आज पोखरामा समापन गर्दै आगामी २५ गतेदेखि असार मसान्तसम्म काठमाडौंको खुल्लामञ्चमा रिले अनसन बस्ने जनाएको छ ।
गठवन्धनका संयोजक उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई प्रभावकारी बनाउन अनशन शुरु भएपछि प्रत्येक दिन ३ बजे पछि अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गरिने जनाइएको छ ।
प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन बस्ने उहाले जनाउनु भएको छ । गठवन्धनमा आवद्ध दलहरुले आफुहरुले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।