काठमाडौ १२ जेठ ।
गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
गएराति बेंग्लोरको चिनास्वामी रंगशालामा सम्पन्न क्वालिफायर खेलमा बेंग्लोरले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।
बिराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरको जीतमा एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए । उसको शानदार ईनिङसँगै बेंग्लोरले १ सय ५९ रनको चुनौती ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्यो ।
कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरका लागि एबी डेभिलियर्सले ४७ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७९ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातलाई १ सय ५८ रनको योगफलसम्म र्पुयाउने क्रममा ड्वेन स्मिथले ७३ रन जोडेका थिए ।
सुरेश रैनाको कप्तानीमा रहेको पराजित टोली गुजरातले भने फाईनल प्रवेशका लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछ ।
प्रतियोगिता अन्तरगत आज सनराईजर्स हैदरावाद र कोलकाता नाईट राइडर्स भिड्नेछन् । आजको विजेताले फाइनल प्रवेशका लागि गुजरात लायन्ससँग खेल्नेछ ।