काठमाण्डौ ,११ जेठ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आज सर्बदलीय बैठक आह्वान गर्नुभएको छ । सत्तारूढ दलका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसवादी पार्टीका शीर्ष नेतृत्वलाई बैठकमा बोलाइएको छ ।
सिंहदरबारमा आज बिहान साढे १० मा बस्ने बैठकमा संघिय गठबन्धनको जारी आन्दोलनका साथै आगामी बजेटका बिषयमा छलफल हुने बताईएको छ ।
सर्वदलीय बैठकमा मधेसी मोर्चा र आदिवासी जनजातिहरूको संयुक्त आन्दोलन, आगामी बजेटका साथै वर्तमान राजनीतिक अवस्थाबारे विशेष छलफल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
वर्तमान अवस्थामा देखिएको गतिरोध र मधेसी आदिवासीको आन्दोलनको समाधान वार्ता र संवादबाट गर्ने उद्देश्यले सर्वदलीय बैठकको आह्वान गरिएको उहाले बताउनु भयो ।
प्रधानमन्त्रीले बैठकमा सहभागी हुन आन्दोलनरत गठबन्धनलाई यसअघि नै पत्र पठाईसक्नुभएको बताईएको भएपनि गठबन्धनले आफुहरुलाई औपचारी पत्र प्राप्त नभएको जनाएको छ ।
गठबन्धन आवद्ध दल सद्भावनाका महासचिव मनिसकुमार सुमनले प्रधानमन्त्री कार्यलयबाट फोन गरि बैठकमा सहभागी हुन आफुलाई पनि जानकारी गराएको तर औपचारी पत्र नआएको बताउनु भयो ।
उहाले सबैदलीय बैठक अघि गठबन्धनको बैठक बसेर सहभागी हुने या नहुने भन्ने बिषयमा निर्णय गर्ने जानकारी दिनुभयो ।