काठमाडौँ, ६ जेठ । एकीकृत माओवादी सहित बिभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच आज एकिकरण कार्यक्रम शुरु भएको छ ।
राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकता अधिवेशनको कार्यक्रम भईरहेको छ । ५ सय ९९ सदस्यीय जम्बो केन्द्रिय समिति बनाएर औपचारीक रुपमा एकताको घोषणा हुदै छ ।
१० वर्षे सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएपछि विभिन्न सैद्धान्तिक र कार्यगत असन्तुष्टि जनाउदै बिभिन्न चरणमा विभाजित भएका माध्ये क्रान्तिरी माओवादीको रामबहादुर थापा समूह, मात्रिका यादव समुह, मणि थापा समूह र चन्द नेतृत्वको माओवादीका केही नेता तथा हाल स्वतन्त्र रहेकी जयपुरी घर्ती लगायतले एकीकृत माओवादीसंग एकता गर्न लागेका हुन् ।
एकतापछि बहुपदमा जाने निर्णय गरेपनि पदीय भागबन्डा मिल्न सकेको छैन । एकतापछि कसलाई कुन पद दिने भन्ने विषय भने अझै नटुंगिएकाले पदीय भागबन्डाका बिषयमा र एकीकृत दलको अन्तरिम विधान अनुमोदन गर्न बैठक बसिरहेको छ ।
संयुक्त अधिवेशनको ना दिएर बस्ने सो बैठकले पार्टी एकताको अन्तिम टुङ्गो लगाउदै एकीकृत दलको अन्तरिम विधान अनुमोदन गरेपछि अपरान्ह एकताको घोषणा हुने छ।
अधिवेशनमा अन्तरिम नीति कार्यक्रम पनि पेस गरिने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको पार्टी एकता संयोजन समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र क्रान्तिकारी माओवादीका नेता देव गुरुङले तयार गरेको विधान परिमार्जनसहित पारित गरिसकेको छ ।
यसैबीच , आज हुने एकता प्रक्रियामा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन बैद्य ,नेत्रबिक्रम चन्द तथा मात्रिका यादव नेतृत्वको माओवादी भने सहभागी हुने छैनन् । बैचारीक तथा सैद्धान्तिक मतभेद कायम रहेका बेला एकताको औचित्य नभएको भन्दै उनीहरु एकतामा नगएका हुन् ।