काठमाण्डौ ,१ जेठ । एकीकृत नेकपा माओवादीले क्रान्तिकारी माओवादी सहित विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रिय समिति बैठकले बिभिन्न टुक्रामा छरिएका माओवादी पार्टीलाई एकिकरण गर्दै क्रान्तिकारी ध्रुविकरणमा जोड दिने निर्णय गरेको हो ।
बैठकले सबै माओवादी पार्टीहरुसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
क्रान्तिकारी माओवादीका नेता रामबहदुर थापा , मात्रिका यादव नेतृत्वको माओवादीका साथै मणी थापा लगायत अन्य एकता पक्षधर पार्टीसँग एकिकरण गर्ने कार्यको स्वागत गर्दै एकताका लागी आग्रह गरिएको शर्माले बताउनु भयो ।
एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
‘माओवादी झण्डामुनि आबद्ध भएर पछिल्लो चरणमा अलग÷अलग भएका सबै शक्तिहरुलाई एक ठाउँमा आबद्ध गर्ने अभियानअन्तर्गत यो निर्णय भएको हो,’ प्रवक्ता शर्माले भन्नुभयो ‘पार्टी एकताका साथसाथै क्रान्तिकारी ध्रुविकरणलाई जोड दिने कुरालाई एक मतले पारित गरेको छ ।
एमाओवादीबाट अलग्गिएर गठन भएका दलका नेताका नेताहरुलाई सामूहिक वा विभाजित जुनरुपमा आए पनि पार्टीमा एकताबद्ध गराउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । राजनीतिक र सांगठनिक विषय टुंग्याएर दुई साताभित्र एकता गरिसक्ने शर्माको भनाई छ ।
दश वर्ष सशस्त्र युद्ध गरेका माओवादीहरु अहिले विभिन्न ५ टुक्रामा बिभाजित छन् । एमाओवादीबाट अलग्गिएर मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्दले नेकपा माओवादी, मात्रिका यादवले नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका छन् ।