काठमाण्डौ, ३० बैशाख ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सम्झौतालाई विरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।
नौ बुँदे सम्झौता अवैधानिक रहेको दाबीसहित दायर रिट निवेदनलाई सर्वोच्च अदालतले कारण देखाउ आदेशसमेत जारी नगरी कायममुकायम प्रधानन्यायाधीश सुशिला कार्कीको एकल इजलासले उक्त रिटलाई पहिलो सुनुवाईमै खारेज गर्ने निर्णय गरेको हो ।
सम्झौतामा सर्वोच्चका फैसलाविपरित हुने गरी सशस्त्र द्वन्द्वकाल र अन्य समयमा राजनीतिक रुपले लगाइएका मुद्दामा माफी, फिर्ता एवं मिनाहा गर्नेलगायत बिषय समेटिएको दाबीसहित अधिवक्ता अनन्तराज लुईंटेलसहित पाँचजनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री ओली र एकीकृत माओवादीका अध्यक्ष दाहालविच गत बैशाख २३ गते नौ बुँदे सम्झौता भएको थियो । सर्वोच्चको यो निर्णयपछि सम्झौता कार्यान्वयनमा थप सहज हुने भएको छ ।