काठमाडौ ३१ वैशाख ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तरगत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससँग ७ विकेटले पराजित भएको छ ।
खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनायो ।
हैदरावादका लागि कप्तान डेविट वार्नरले सर्वाधिधक ४६ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । १ सय ४७ रनको लक्ष्य पाएको दिल्लीले ११ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
दिल्लीले १८ दशमलव १ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ५० रन जोड्यो । जितसँगै दिल्ली १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यस अघि तेस्रो स्थानमा रहेको कोलकत्ता नाइड राइडर्सलाई रनरेटका आधारमा पछि पार्दै दिल्ली तेस्रो स्थानमा उक्लिएको हो । हैदरावाद भने १४ अंक सहित तालिकाको शीर्ष स्थानमा नै कायम छ ।