काठमाडौ २८ वैशाख ।
ललितपुरमा आजदेखि सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेतिर पुल्चोकबाट तानेर गाबहालमा र्पुयाइनेछ ।
गत शनिबार रथारोहण गरि हिजो सम्पुर्ण पूँजा सकाएपछि आज रथ तान्न लागिएको हो । करीब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा पाटनको सबैभन्दा महत्वपूर्ण जात्रा हो । यो जात्रालाई सहकालका देवताका रुपमा उपत्यकाका हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् ।
१२ बर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ । पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा भोटो देखाएपछि सम्पन्न हुन्छ ।