काठमाडौ २५ वैशाख ।
निजी विद्यालयले मनोमानी शुल्क असुलेको गुनासो बढ्दै गएपछि सरकारले आगामी सोमबारदेखि अनुगमनका लागि टोली खटाइने भएको छ ।
शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा खटिने टोलीले उपत्यकाका विशिष्ट श्रेणीका निजी विद्यालयको शुल्क अनुगमन गर्ने बताइएको छ । विद्यार्थी संगठनले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै विद्यालय अनुगमन थालेपछि सरकारले पनि तदारुकता देखाएको हो ।
शिक्षा मन्त्रालय र विद्यार्थी संगठनबीच हिजो भएको छलफलमा शुल्क निर्धारण निर्देशिका कार्यान्वयन, शुल्क अनुगमनका लागि केन्द्रिय स्तरमा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति बनाएर खटिने सहमति पनि भएको छ ।
गत वैशाख ६ गते शिक्षा मन्त्रालय र विद्यार्थी संगठन बीच भएको १० बुँदे सहमति कार्यान्वयमा विद्यार्थी संगठनले जोड दिए पछि शिक्षा मन्त्रालयले अनुगमन अघि बढाउने तयारी गरेको हो ।