काठमाण्डौ ,१६ वैशाख ।
सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवंम् पत्रकार कनकमणि दिक्षितलाई अदालतमा उपस्थित गराउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन उपर सुनुवाइ गर्दै सर्वोच्चले दिक्षीतलाई थुन्नुको लिखित कारण सहित अदालतमा लिएर आउन अख्तियार र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका हो ।
दिक्षितलाई गैरकानूनी हिरासतमा लिइएको भन्दै उहाँकी श्रीमति शान्ता दिक्षितले दायर गरेको सो मुद्दामा आज कायममुकायम प्रधान न्यायाधीश सुशीला कार्कीको इजलाशले आदेश जारी गर्दै आगामी सोमबार दिक्षितसहित लिखित जवाफ लिएर हाजिर हुन आउन आदेश जारी गरेको छ ।
दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नर्पुयाई स्वेच्छाचारी ढङ्गले विना कुनै निर्णय गैरकानुनी रुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लेख थियो।
यसअघि यही वैशाख १२ गते विशेष अदालतले दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो।
अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको अख्तियारको दाबी छ ।
दिक्षितलाई विनाकारण अख्तियारले थुनेको भन्दै उहाँका कानुन व्यवसायीहरुले पनि तुरुन्त रिहा हुनुपर्ने माग गर्दै आएका छन् ।