काठमाडौ ,१६ वैशाख ।
सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । बैठक बिहान साँढे ११ बजे पछि सिंहदरबारस्थित समिति कार्यलयमा बोलाइएको छ ।
बैठकमा राष्ट्रिय परिचयपत्र बनाउने विषयमा सरकारले गरिरहेको तयारीबारे प्रधानमन्त्री सहित सरोकारवाला निकायका अधिकारीहरुसँग सोधपुछ गरिने समिति सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो ।
राष्ट्रिय सुरक्षा र प्रतिष्ठासँग जोडिएको बिषयलाई पारदर्शी बनाउन सरकारले गरिरहेको तयारीबारे सोधपुछका लागि प्रधानमन्त्री केपी शर्मा ओली सहित गृहमन्त्री, अर्थमन्त्रीका साथै नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख बोलाएको खतिवडाले बताउनु भयो ।
नागरिकतालाई बिस्थापित गरि राष्ट्रिय परिचयपत्र बनाउने नाममा आर्थिक चलखेल भएको उजुरी परेपछि समितिले चासो देखाएको हो ।
समितिले सांसद रामहरि खतिवडाको संयोजकत्वमा उपसमिति बनाएर त्यसवारे छानविन समेत अघि बढाएको थियो । उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाईसकेको छ ।