काठमाण्डौ, १३ बैशाख। हतियारसहित भारतीय प्रहरी टोली नेपाल छिरेको बिरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले कडा प्रतिकृया दिएको छ ।
साथै राजधानी लगायत देशका बिभिन्न ठाउँमा सांकेतिक प्रदर्शन समेत गरेको छ ।
पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गरी विना अनुमति भारतीय सुरक्षाकर्मी बर्दी र हतियार सहित सिमा प्रवेश गरेर आउनु नेपाली जनताको लागि अक्षम्य विषय भएको भन्दै कडा चेतावनी दिनु भएको छ ।
भारतीय विस्तारबादको हेपाहा प्रवृति र दादागिरीको नमुना भन्दै यस्तो वेला समेत सरकार र ससदवादी दलहरु नबोल्नुले उनीहरुको राष्ट्रघाती चरित्र र दास मनोवृतिलाई उजागर गर्दछ प्रकाण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
“नेपाल राष्ट्रको स्वाधीनताको रक्षा गर्न, भारतीय सुरक्षा शक्तिको हस्तक्षेपलाई प्रतिवाद गर्न र अन्तर्राष्ट्रिय कानूनको पालना गराउन सशस्त्र रुपमा नेपाल प्रवेश गरेका भारतीय प्रहरीका पाँच जनालाई भारत सरकारलाई बुझाउने गल्ती राज्यले नगरी अन्तर्राष्ट्रिय कानून र राष्ट्रिय कानूनबमोजिम कडा कारवाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । ” प्रकाण्डद्धारा विज्ञप्तिमा भनिएको छ ।
यता हतियार सहित अर्को मुलुकमा प्रवेश गर्नु प्रहरीको आचरण विपरित भएको र देशको स्वाधिनतामाथी गम्भिर हस्तक्षेप भन्दै माओवादीले काठमाण्डौको शान्ति बाटिकाका जुलुससहित प्रदर्शन गरेको छ ।
यस्तै आजै बेलुका कैलाली, कञ्चनपुर, चितवन लगायतका ठाउँमा यस घटना बिरुद्ध विरोध प्रदर्शन गरिएको माओवादीले जनाएको छ ।
एक थान एके–४७ तथा त्यसमा लाग्ने गोलीको साथमा ‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला हिजो सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट पक्राउ परेका थिए ।
यसैविच हतियार सहित अवैध रुपमा नेपाल छिरेका ५ भारतीय प्रहरीलाई डोटी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि कैलालीको जिम्मा लगाएको छ ।
उनीहरुको साथबाट नेपाल प्रहरीले एके ४७ राईफल र एक पेस्तोल बरामद गरेको छ । प्रहरी अधिकारीका अनुसार इन्सिपेक्टर, सवइन्सिपेक्टर, २ जना हवल्दार र एक जना सिपाईलाई नियन्त्रणमा लिईएको हो ।
डोटीको सानागाउँबाट पक्राउ परेका उनीहरुलाई गएराती १० बजें कैलाली जिल्ला प्रहरीलाई बुझाईएको हो ।