काठमाण्डौ ,११ वैशाख ।
एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताउनु भएको छ । अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताउनु भयो ।
क्रान्तिकारी पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्नेमा जोड दिनुभयो । उहाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने उल्लेख गर्नुभयो ।
‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’, अध्यक्ष दाहालले भन्नुभयो ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु ।
सोह्र बुँदे सहमतिकै आधारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।