काठमाडौ ११ वैशाख ।
सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका क्रममा देखिएको जटिलता समाधान गर्दै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक लाग्ने बताउनु भएको छ ।
दाङमा आज बिहान शहिद प्रतिष्ठान स्कुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्र स्थापनाको एक दशकमा संविधान सभाबाट संविधान जारी भएपनि कार्ययन्वयन गर्न चुनौती रहेको बताउनुभयो ।
जन आन्दोलन र क्रान्तीको जगमा राजनीतिक सफलता हात पारेपनि आर्थिक समृद्धिको विषयमा प्रगति हुन नसकेको स्वीकार्दै उहाँले समृद्धिका लागि आफ्नो पार्टी दृढता पूर्वक अघि बढ्ने धारणा राख्नु भयो ।
एक अर्को प्रसंगमा उहाँले पार्टी विभाजन हुनु दुखद भएको भन्दै एकता मार्फत जनयुद्धका सहयात्री एकै स्थानमा उभिने प्रयास भइरहेको दाबी गर्नुभयो ।
उहाँले शहिद तथा वेपत्ता परीवारका छोराछोरी अध्ययन गर्न स्थापना भएका विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि पार्टीले सरकार मार्फत सहयोग जुटाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।