काठमाडौं, बैशाख ९
बार्सिलोनाले डिप्रोटिभोमाथि फराकिलो जित दर्ता गरेको छ । गएराति भएको ला लिगाको खेलमा बार्सिलोनाले डिप्रोटिभो ला कोरुनालाई ८ विरुद्ध शून्य गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलको ११ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका हुन् । २४ औँ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै स्वारेजले नै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २ विरुद्ध शून्य गोलको अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा थप ६ गोल गरेको थियो ।
खेलको ४७ औँ मिनेटमा रेकिटिकले गोल गरेपछि बार्सिलोनाले ३ विरुद्ध शून्य गोलको अग्रता लिएको थियो । यस्तै खेलको ५३ औँ मिनेटमा गोल गर्दै स्वारेजले ह्याट्रिक पूरा गरेका हुन् । खेलको ६४ औँ मिनेट फेरी स्वारेजले चौथो गोल गरेपछि बार्सिलोना ५ विरुद्ध शूय गोलले अघि बढ्यो ।
यस्तै खेलको ७३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे भने ७९ औँ मिनेटमा बार्टाले गोल गर्दै टोलीलाई ७ विरुद्ध शून्य गोलको अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोना डिप्रोटिभोमाथि ८ विरुद्ध शून्य गोलको शानदार जित निकाल्न सफल भएको हो । जितपछि पनि बार्सिलोना ३४ खेलबाट ७९ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।