काठमाण्डौ, ८ बैशाख । राप्रपा नेपालले संघीय मामिला एवं स्थानीय विकास सहायक मन्त्री विराट विष्टको ठाउँमा रेशम लामालाई नियुक्ती गर्न सिफारिस गरेको छ ।
पार्टी हित विपरित गतिविधि गरेको आरोपमा सरकारबाट फिर्ता बोलाइएका विष्ठको स्थानमा लामालाई नियुक्त गर्न सिफारिस गरेको हो ।
विष्टको ठाउँमा लामालाई नियुक्त गर्न प्रधानमन्त्रीलाई पत्राचार गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपा नेपालको हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हित विपरित गतिविधि गरेको, मन्त्री पदको दुरुपयोग गरेको तथा पार्टी एकता विरुद्ध गतिविधि गरेको भन्दै सहायकमन्त्री विष्टलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राप्रपा नेपालले विष्टलाई फिर्ता बोलाउने निर्णयसहित प्रधानमन्त्रीलाई पत्राचार गरेपनि हालसम्म विष्टलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुभएको छैन ।