पोखरा ,८ वैशाख । प्रधानमन्त्री केपि शर्मा ओलीले सबै आन्दोलनका कार्यक्रमलाई छोडेर वार्तामा आउन मधेशी मोर्चालाई आग्रह गर्नुभएको छ ।
पोखरा विश्वविद्यालयको तेह्रौ दीक्षान्त समारोहलाइ आज संबोधन गर्दै वर्तमान सरकारले सबैका जायज माग सम्बोधन गर्ने भन्दै आन्दोलनका कुरा छाडेर संवादमा आउन आग्रह गर्नुभएको हो । उहाले अब आन्दोलनमार्फ उपलब्धी हासिल नहुने भन्दै संबादबाट हालको समस्या समाधान हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो ।
देशमा राजनीतिक लडाईं सकिएको भन्दै उहाले विकास निर्माणको काममा लाग्नुपर्नेमा जोड दिदै अब कुनै पनि संघर्ष आवश्यक नरहेको बताउनु भयो । प्रधानमन्त्रीले उच्च शिक्षा हासिल गरिसकेपछि ज्ञान र सीपलाई रचनात्मक ढंगले आफ्नो कार्य क्षेत्र र समाजमा लगाउन अनुरोध समेत गर्नुभयो । समय सापेक्ष शिक्षामा जोड दिदै ओलीले कुनै पनि देशको विकासकालागि त्यस देशको मानवस्रोत राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।
‘दक्ष मानवस्रोतले नै देश विकास सम्भव छ,’ उहाले भन्नुभयो , ‘समय सापेक्ष शिक्षा आजको आवश्यकता हो । यसतर्फ सरकार कटिबद्ध छ ।’युवा समूहले आर्जेको ज्ञान, उन्नत सोच, सबल इच्छाशक्ति र सहयोग मुलुकको विकासका लागि आवश्यक रहेको उनले बताउनु भयो । लिखित मन्तव्यका साथ कार्यक्रममा उपस्थित भएपनि ओलीले मौखिक भाषण गर्नुभएको थियो ।
यस्तै समारोहका प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपालमा विश्वविद्यालयको विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भइरहे पनि देशभित्र प्रयाप्त मात्रामा उपयोग हुन नसकेको बताउनु भयो । ज्ञानको विकासले नै मानिसको यात्रा निर्धारण गर्ने उहाको भनाई थियो ।
कार्यक्रममा चैत मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका स्नातक तह अन्तर्गत व्यवस्थापन विषयका २६ सय २७, इन्जिनियरिङ षियका ७ सय ९१, स्वास्थ्य विज्ञान विषयका ३ सय ९५, मानविकीका २३ तथा स्नात्तकोत्तर तहअन्तर्गत ६ सय ३७ र एमफिलका २० जना गरी ४४ सय ९३ जना विद्यार्थी दीक्षित भए । दीक्षित विद्यार्थीलाई सपथ दिलाउँदै प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले आजै कास्कीको पूरुन्चौरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलन्यास र बिएस्सी एजीको प्रथम कक्षाको पनि उद्घाटन गर्नुभयो ।