७ बैशाख काठमाडौं । केही समयअगाडि बाबुराम भट्टराईको संयोजकत्वमा गठित नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का एकजना केन्द्रीय सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति विचारविहीन र दिशाहीन भएको भन्दै केन्द्रीय सदस्य उदय राई मंगलबार राजधानीमा भएको एक कार्यक्रममाझ् माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रम माओवादी निकट युवा दस्ता राष्ट्रिय जनस्वयम सेवकको प्रथम काठमाडौं जिल्ला सम्मेलनमा आयोजित थियो ।
परिषद्ले नै नयाँ शक्तिको केन्द्रीय समितिको काम गर्दै आइरहेको छ । पूर्व वाईसीएलका प्रशिक्षण विभाग प्रमुख समेत रहेका राई माओवादीमा आफ्नो प्रवेश आवेग वा प्रतिशोध नभई उत्पीडित जनता र देशको मुक्तिका लागि जारी एकीकृत जनक्रान्तिमा सशक्त रुपमा सहभागी हुन भएको बताए ।
नवप्रवेशी राईले बाबुरामले नेतृत्वको नयाँ शक्तिले मालेमावादलाई तिरस्कार गरेर चरम पुँजीवादमा फसेको बताए । माओवादी जनयुद्धबाट प्राप्त उपलव्धिलाई रक्षा गर्नुको साटो मालेमावादको जगमा भएको जनयुद्धलाई समेत अपमान हुने गरी ‘माक्र्सवादको अपसिद्धान्तको रुपमा व्याख्या गरिएको’ले बसिरहन न्यायोचित नहुने निष्कर्ससहित नयाँ शक्ति परित्याग गरेको राईको भनाई छ ।
संयोजक भट्टराई पछिल्लो समयमा माक्र्सवादका आधारभूत आधार मेटाएर वामपन्थी लोकतान्त्रिक राजनीतिलाई नयाँ शक्तिको राजनैतिक प्रस्तावना कोर्नतर्फ लागेको भन्दै उक्त प्रस्तावना कार्ल काउत्सीको भन्दा निम्न कोटीको भएको बताए ।