काठमाडौं, बैशाख ७
आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित संघर्ष गर्ने तयारी गरेको संघीय गठबन्धनभित्र आन्दोलनको स्वरूपको विषयमा मतभेद देखिएको छ ।
सोमबार मात्र २६ बुँदे साझा अवधारणा पत्र सार्वजनिक गरेको जनजाति संगठन र संयुक्त मधेशी मोर्चामा आबद्ध दल सम्मिलित गठबन्धनको आन्दोलनको कार्यक्रम तय गर्न आज बसेको बैठक आन्दोलनको स्वरूपको विषयमा मतभेद हुँदा अनिर्णित भएको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा आज बसेको बैठक अनिर्णित भएसँगै पुनः भोलि बुधबार बसेर निर्णय लिइने नेताहरूले जानकारी दिए । आन्दोलनको स्वरूपमा मतभेद रहेको भए पनि नेताहरूले आज एक–अर्काको कुरा सुन्ने काम भएकाले भोलि बस्ने गठबन्धनको बैठकले आन्दोलनको स्वरूपबारे निर्णय लिइने दाबी गरे ।
जनजाति संगठनहरू र मधेश आन्दोलन गरेका सात वटा तराई केन्द्रित दलसहित १७ वटा दल सम्मिलित उक्त गठबन्धनले सोमबार वर्तमान संविधान पुनर्लेखन वा परिवर्तन गर्न माग गर्दै २६ बुँदे साझा अवधारणा पत्र सार्वजनिक गरेको थियो ।
उक्त अवधारणा पत्रमा तराई मधेशमा दुईसहित पहिचान एवं सामथ्र्यको आधारमा स्वायत्त प्रदेश निर्माणको माग एक नम्बरमा राखिएको छ । राजनीतिकका साथै आर्थिक, समावेशीलगायतका बुँदा समेटिएको छ । बैशाखमा जनजागरण कार्यक्रम गरिने र जेठ लागेसँगै तराई–पहाड–हिमालका नागरिकलाई सडकमा उतारेर निर्णायक आन्दोलन गर्ने ती दलहरूको दाबी छ ।