काठमाडौ ४ वैशाख ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
आजको खेलमा नेपाली टोलीले घरेलु मैदान र दर्शकको फाइदा उठाउन सक्नेछन् । प्रतियोगितामा नामिबियाले चारमध्ये एक खेलमा जीत हात पारेको छ भने नेपाल चारै खेल हारेर पुछारमा छ ।
८ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने भएकाले सम्भावना जिवित राख्न नेपाललाई आजको खेल जित्नै पार्ने दवाव छ ।
नेपालले नामिबियासँग हालसम्म तीन पटक एक दिवसीय क्रिकेट खेलेको छ । जसमा नेपालले एकमा जीत तथा दुईमा बराबरीमा खेलेको थियो ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली टोली जितका लागि मैदान उत्रिने बताएका छन् । नेपाली खेलाडीले राम्रो मेहनत गरिरहेको तथा होम ग्राउण्ड र नेपाली दर्शकको साथ पनि रहेकाले नेपालले जित्ने उनको दावी छ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल र सागर पुनले ओपनिङ गर्ने लगभग तय भइसकेको छ । विकेटकिपरको भूमिका विनोद भण्डारीले पाउनेछन् । नेपाल र नामिबियाबीचको दोस्रो खेल आगामी सोमबार हुनेछ ।
यसैबीच खेलका लागि सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ । खेल हेर्न हजारौ दर्शक कीर्तिपुर पुग्ने भएकाले अप्रिय घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै प्रहरीले मैदान तथा आसपासका क्षेत्रमा विशेष सुरक्षा दिने बताएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्नुपर्ने भएकाले खेलका लागि सात सय ७३ जना प्रहरी परिचालन गर्नुका साथै दर्शकको निगरानी र सुरक्षा जाँचका लागि सिसिटिभीको व्यवस्था गरिएको जनाएको छ ।