काठमाडौं, बैशाख ३
नेकपा एमालेले आफ्नो पार्टी कार्यालय पुरानै स्थान बल्खुमै बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको केन्द्रीय कमिटीको छैठौँ बैठकले पार्टी कार्यालय बल्खुमै बनाउने निर्णय गरेको हो ।
गत साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्केपछि अस्थायी रूपमा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा अस्थायी कार्यालय चलाउँदै आएको थियो ।
बल्खुस्थित पुरानो कार्यालय रहेको जग्गा बिक्री गरी नयाँ ठाउँमा कार्यालय बनाउने कि सोही स्थानमा कार्यालय बनाउने भन्ने विषयमा एमालेभित्र छलफल चलेको थियो ।
यस्तै प्रादेशिक संरचनामा पार्टीलाई लैजान बाधा अड्काउ फुकाउने धारा प्रयोग गरी प्रादेशिक कमिटीहरू बनाउने निर्णय पनि एमालेले गरेको छ । बैठकले समसामयिक विषयमा विभिन्न प्रस्तावसमे पारित गरेको थियो ।