काठमाडौं, बैशाख ३/ प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूले गुटबन्दी नगरेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले गुटबन्दी आवश्यक नभएको बताएका हुन् ।
बैठकले संविधानअनुसार सात वटै प्रदेशमा प्रदेश कमिटी बनाउने निर्णयसमेत गरेको छ । कमिटी गठनको जिम्मेवारी भने स्थायी समितिलाई दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले एक साताभित्र विभागहरू गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा ओलीले आफूलाई अध्यक्ष बनाउन र प्रधानमन्त्री बनाउने पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीप्रति प्रतिबद्ध भएर अगाडि बढ्ने बताए ।
ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अब संस्थागत निर्णय गरेर मात्र अगाडि बढ्छु, सबैको साथ र सहयोग लिएर मात्र अगाडि बढ्छु म माथि धेरै शंका नगर्नुहोस् । त्यसैगरी चैत्र २७ गतेदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक पनि सम्पन्न भएको छ ।
आन्दोलनरत मधेशी दललाई अबिलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आव्हान गर्दै गत छ दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय समितिको छैटौँ बैठक आज सकिएको छ ।
बैठकले समसामयिक १९ वटा प्रस्ताव पनि पारित गरेको छ । पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।
बिहीबार वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालले बोलेका थिए । दुबै नेताले अध्यक्ष ओलीले आफैँले गुटबन्दी गरेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा अध्यक्ष ओलीले आफूले यही कार्यकालमा काम गर्न चाहेको र गुटबन्दी नगरेको जवाफ दिएका थिए ।