काठमाडौं ,३ वैशाख ।
नेपाली राजनीतिक क्रान्तिका अथक योद्धा खुबीराम आचार्यको ९३ वर्षको उमेरमा आज विहान निधन भएको छ ।
एक्कासी ज्वरो आएप्छि अस्पताल लैजाने लाग्दा उहाको कपिलवस्तुको भृकुटीनगर नगरपलिका ६ गेलबजार (साविकको बुड्ढी गाविस) स्थित आफ्नै निवासमा निधन भएको परिवारीक श्रोतले जनाएको छ ।
२००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवा खुबीराम वि.सं १९८० जेठ २२ गते चुडामणि आचार्य र हरिकादेवी आचार्यको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएको थियो ।
जयतु संस्कृतम आन्दोलनका क्रममा देश निकाला गरिएपछि बंगलादेशमा निर्वासित जीवन पनि बिताउनु भएके थियो । वि.सं. २००६ सालमा कांग्रेस पार्टी सदस्य भई राजनीति थालेका उनी देश फर्किएर गोकर्णराज शास्त्रीसँगै ००७ सालको आन्दोलनमा पनि सहभागी हुनुभएको थियो ।
स्वदेश फर्किएपछि अर्घाखाँचीमा पार्टी जिम्मेवारी पाउनुभएका उहाले नै बाहुनले पनि हलो जोत्न हुन्छ भन्ने सामाजिक अभियान चलाउनु भएको थियो ।
वि.सं. २०१५ सालमा कांग्रेसबाट नै उम्मेदवारको टिकट पाएर पनि उनीले सुवर्णशम्सेरलाई छाडिदिनुभएको थियो । कांग्रेसबाट राजनीति थालेका खुबीराम २०१६ साल पुस २१ ग्ते कांग्रेस छाडेर कम्युनिष्ट पार्टीको सदस्य बनेपछि ०१६ मा नै भएको उपनिर्वाचनमा उम्मेवार बने पनि उनी पराजित हुनुभएको थियो ।
कम्युनिष्ट आन्दोलनमा लागेपछि उनी लुम्बिनी अञ्चलको प्रतिनिधि भई दरभंगा प्लेनममा समेत भाग लिनुभएको थियो । लामो समय भूमिगत जीवन विताएका उहा मोहनविक्रम सिंहको लाइनमा अडिग हुनुहुन्थ्यो । २०२८ सालमा कन्द्रीय न्युक्लियसको केन्द्रीय सदस्य रहका उहा २०३१ सालमा बनारसमा भएको चौथो महाधिवेशन (चौम) प्रतिनिधि हुनुभएको थियो । ०२९ सालमा मसाल, ०४२ सालमा मशाल हुँदै २०४६ सालमा एकताकेन्द्र मसाल हुनुभएको थियो ।
खुशीराम पछिल्लो समयमा एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी हुँदै क्रान्तिकारी नेकपा माओवादीका पनि केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
खुबीरामका चार छोराहरु सबै माओवादी आन्दोलनमै छन् भने तीन छोरीमध्येकी माइली छोरी मोहन वैद्यकी पत्नी हुन् ।
यसैबीच खुबीरामको निधन भएको खवर पाएलगत्तै अन्तिम संस्कारका लागी नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र उहाकी पत्नि दुबैजना कपिलबस्तु गैसक्नुभएको नेता देव गुरुङले जानकारी दिनुभयो ।