बैशाख ३ काठमाण्डौं । विवाद , फुट र गुटबन्दी एमालेले धेरै झेलेको छ । २०५४ सालमा बामदेव गौतमले महाकाली सन्धिको विरोधको नाममा पार्टी नै फुटाए । तर पछि ससदमा एक सिट पनि ल्याउन नसके पछि उनी फेरी एमालेमै फर्किए ।
नवौं महाधिबेशन आसपासबाट भने विरोध र असहमतिका बीच पनि एमाले एक ढिक्का भएको देखिएको थियो ।
तर पछिल्लो समय फेरी एमालेमा नेताहरु र समुहहरुबीच दुरी बढ्दै गएको छ भने नेताहरुले आफ्नो पहिचान र हैसियतका आधारमा धुरी समेत खडा गर्दै हिड्न थालेका छन् । यसले एमालेमा स्पष्ट नेताहरुका बीचमा दुरी र धुरी बढ्दै जान थालेको स्पष्ट संकेत देखिन थालेको छ ।
ओलीले एकलौटी गरेको आरोप
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने कुरा सहकर्मि बरिष्ठ नेताहरु भन्दा पहिला अन्य आफू निकटका नेतासग‘ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसग‘ गरेको आरोप नेताहरुको छ ।
राष्ट्रपतिको उम्मेद्धार चयनका लागि बसेको स्थायी समितिको बैठक नै आन्तरीक विवादका कारण केही दिन लम्बिएको थियो । सो समयमा पनि बरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेताले हामीलाई नै जानकारी नभई, निर्णय नै नभई कसरी विद्या भण्डारी राष्ट्रपति हुने बनाउने भन्ने कुरा बाहिर आयो ? भनेर प्रश्न गरेका थिए ।
२०७१ असार ३२ गते पार्टी अध्यक्षमा माधव कुमार नेपाललाई पराजीत गर्दै ओली निर्वाचीत भए देखि नै सामान्य घोषित अघोषित मतभेद राख्ने काम माधव नेपालले शुरु गरेको र यो ईगो प्रोव्लेमको रुपमा रहेको ओली निकटका एक नेताको दावी छ । उनको तर्क के छ भने ओली पार्टी नेतृत्व भए पछि पार्टीको हैसियत पनि माथि आएको र ऐतिहासिक कामहरु सरकारले गर्न सकेको भन्दै विरोध गर्दै हिड्नु गलत हुने तर्क उनको छ ।
तर अन्य पक्षका नेताहरुले भने प्रायः निर्णयहरुमा मनपरी ढंगले जनवादी प्रकृया भन्दा पनि मनवादी प्रकृयाबाट पार्टी अध्यक्षले आफ्ना मान्छेहरुका लागि निर्णय गर्ने गरेको अन्य पक्षको आरोप छ ।
माधव नेपाललाई वाईपास गर्ने ?
अहिले स्पष्ट एमालेको एउटा धुरी माधव नेपाल छन् । स्वभाविक पार्टीमा लामो समय नेतृत्व गरेका र फेरी नवौं महाधिवेशनको अध्यक्षको प्रत्यासी भएका कारण पनि उनको नेतृत्वमा एउटा बलियो केन्द्र छ एमालेमा ।
विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्धार भनेर प्रचारमा आए पछि मात्रै जानकारी पाएका माधव कुमार नेपाल अहिले पनि विदेश विभागको प्रमुख छन् ।
चीन, भारत सहित विभिन्न मुलुकमा जति पनि नेता कार्यकर्ता गईरहेका छन् ती सबैको जानकारी माधव नेपाललाई नदिने गरेको सो समुहको भनाई छ । विदेश विभाग प्रमुखलाई नै जानकारी नदिई विदेश भ्रमणमा पार्टी नेता पठाउने अध्यक्षको यो के तरीका हो ? यो प्रश्न जारी केन्द्रीय समितिमा निकै पेचिलो तरीकाले माधव नेपाल पक्षले उठाएको छ । यसलाई महाधिवेशनमा खुलेर नलागेका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालले पनि साथ दिएका छन् ।
अझ अर्को कुरा झण्डै २ सातादेखि बसिरहेको पोलिटव्यूरो तथा केन्द्रीय समितिको बैठकमा माधव कुमार नेपाललाई बोल्ने समय समेत नदिई अध्यक्ष ओलीले बैठक समाप्तिको घोषणा गर्न खोजे पछि यो पक्ष अझ आक्रोसित बनेको हो ।
माधव नेपाल पक्षले अहिले अनौपचारीक छलफल गर्दै पार्टी भित्र अध्यक्षले गरेको गुटबन्दी रोक्न भन्दै नया तरीकाले जाने सोच बनाएको नेपाल पक्षका एक नेताले बताएका छन् ।
यस विषयमा नेता लालवावु पण्डितले पार्टी संस्थागत र पद्धतिसंगत तरीकाले चल्नु पर्ने बताए ।
तर अर्का नेता केशव वडाल माधव नेपाल पक्षले उठाएको तर्कको खण्डन गर्दै भन्छन् “ विदेश विभाग समेत निस्क्रिय छ, यसले नीति बनाउने हो , निर्णयमा भूमिका खोजेर बस्ने हो ? आफ्नो मान्छे परेन भन्दैमा विरोध गर्नुको अर्थ छैन ” ।
बामदेव किन भए गुमदेव ?
बुटवलमा भएको पार्टीको आठौ महाधिवेशनमा विभिन्न कारणले पुग्न नसके पनि बामदेव गौतमले उपाध्य पद जीत्न सफल भएका थिए । उनी सो समयमा झलनाथ खनाल पक्षमा थिए । जुन बेला माधव नेपालको समेत समर्थनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा चुनाव लड्दा पराजीत भएका थिए ।
बामदेव गौतम समुहमा केही सक्रिय युवा नेताहरु रहेको र उनीहरुको प्रभाव देखे पछि बिस्तारै केपी शर्मा ओलीले उनलाई हातमा लिए ।
ओली निवास बालकोट र गौतम निवास भैसेपाटीमा दुई नेताको पटक पटकको लामो वार्ता पछि केही सहमति गरेर बामदेव गौतम ओली समुहमा लागेका थिए र उनले चुनाव जिताएर पनि देखाए नवौं महाधिवेशनमा ।
उच्च स्रोतका अनुसार यो सम्झौता नवौं महाधिवेशन अघि गौतम निवास भैसेपाटीमा भएको थियो । जस अनुसार नवौं महाधिवेशनमा पार्टी अध्यक्ष ओलीलाई बनाउने र गौतमलाई बरिष्ठ उपाध्यक्ष बनाउने । त्यस पछि दशौं महाधिशेनमा ओली बरिष्ठ नेता रहेर बामदेव गौतमलाई पार्टी अध्यक्ष बनाउने सहमति उनीहरुबीचमा भएको थियो ।
मन्त्री हुदा नहुदा पनि सार्वजनिक कार्यक्रममा बोलि नै रहने गौतम आजभोली गुमनाम जस्तो देखिन थालेका छन् । उनलाई खासमा प्रधानमन्त्री ओली भए पछि कार्यबाहक अध्यक्ष नदिएकोमा ठूलो गुनासो बढेको बुझिएको छ ।
चैत्र ३० गते यता केन्द्रीय समितिको बैठक छाडेर गौतम जिल्ला तिर निस्किएका छन् ।
उनलाई सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन । बुझिए अनुसार गौतमले अहिले चुपचाप रहेर पनि भए पनि आगामी महाधिबेशनमा बचन पूरा गरेर आफूलाई अध्यक्ष बनाउने विषयमा ओली लाग्छन् लाग्दैनन् त्यो प्रतिक्षा गरेका छन् । ओलीले पनि गौतमबारे खासै टिप्प्णी नगरेको एक नेताले बताए ।
एमाले भित्रको यो बढ्दो दुरी र धुरीले फेरी राष्ट्रिय राजनीतिमा कुनै प्रभाव नपरोस् भन्ने धेरैको सुभेक्षा देखिन्छ । नेताहरुले बेलैमा सकारात्मक तरिकाले सोच बनाउनु उपयुक्त हुने कार्यकर्ता पङितको सुझाव छ ।