काठमाडौं, बैशाख २
लामो समयसम्म भएको नाकाबन्दी खुलेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा शक्ति सञ्चय र आन्दोलनको जोड घटाउमा रातदिन नभनी घटिरहेको छ ।
मधेश आन्दोलन उत्कर्षमा पुग्दासमेत आफूहरूले उठाउँदै आएको माग सम्बोधन हुन नसकेकोप्रति मोर्चामा विवाद, खिन्नता र पश्चाताप रहेको छ । मोर्चामा रहेका चार दलबाट तीन दल थपेर अहिले सात दलको मोर्चा बनेको छ ।
नाका खुलेको दुई महिनायता मोर्चाका नेताहरू बैठक बस्ने, समीक्षा गर्ने र शक्ति सञ्चय गरेर पुनः मधेश आन्दोलन चर्काउने रणनीतिमा छन् । छ महिनासम्म भएको तराई मधेश आन्दोलनको क्रममा चार दर्जनभन्दा बढी नागरिकहरूले ज्यान गुमाउँदासमेत आफूहरूको माग सम्बोधन नभएको भन्दै मोर्चा रुष्ट छ । मोर्चाले विशेषगरी सीमाङ्कनमा सहमति जनाउँदै आएको छ । तराई मधेशमा दुई मधेश प्रदेश हुनुपर्ने अडान मोर्चाले राख्दै आएको छ ।
यसैबीच, तराई मधेशको छ महिनासम्म भएको आन्दोलनको पनि कुनै सुनुवाई नगरेको भन्दै आन्दोलनको जोरजाममा लागेको मधेशी मोर्चाले आन्तरिक गृहकार्य गरेर बैशाख छ गते वार कि पारको आन्दोलनको घोषणा गर्ने भएको छ । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अहिलेसम्म भएको आन्दोलनको समीक्षा गरेर निर्णायक आन्दोलनको घोषणा गर्ने बताए । उनले भने, ‘हामी लचक भएर आन्दोलन स्थगित गरेर वार्तामा आयौं, तर सरकारले अपमानित गर्ने गरी वार्तामा बोलाउन नै आवश्यक ठानेन ।’