काठमाडौं, बैशाख १
नेपाली कांग्रेसले खोटाङ र डोटीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दुबै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “यो संवेदनशील घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।
मङ्गलबार खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस बर्खेटारमा दुर्घटना हुँदा २४ जनाको ज्यान गएको थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए । सोही राति डोटीको जिजोडामाण्डौं गाविसमा भएको जिप दुर्घटनामा छ जनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएका थिए ।
विज्ञप्तिमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । यो वर्ष मात्र दुई हजारभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
कांग्रेसले सवारी सचेतना, बाटोको स्तरोन्नति तथा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थाका साथ आगामी दिनमा यस्ता घटनामा कमी ल्याउन आवश्यक कदम चाल्न सरकार र सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ ।