२७ चैत, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा ठोस निर्णय गरेर कदम चाल्ने बताउनु भएको छ ।
आज सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले केही निर्णय गर्ने बताउनु भएको हो ।
फागुण १९ गते शहीद घोषणा गरिएका वान्तवा ३७ वर्ष पछि मात्र शहीदको दर्जा पाएको भन्दै विगतमा जसलाई मन लाग्यो उसलाई शहीद बनाउदा समस्या भएको ओलीको भनाई थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा सहिद बान्तवाका विषयमा लिखित ‘पूर्वको रातो तारा’ पुस्तक विमोचन समेत गर्नु भयो ।
बान्तवासँगै पञ्चायती निरङ्कुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो ।