काठमाडौ, चैत २६ गते । सरकारले शिक्षक सेवा निवृत्त शिक्षकहरुलाई पहिलो पटक परिचयपत्र दिने शुरु गरेको छ । वर्र्षौ शिक्षण पेशामा आवद्ध रहेर सेवा निवृत्त भएपछि ‘पहिचान विहिन’ जस्तै बनिरहेका शिक्षकहरुलाई आजिवन काम लाग्नेगरी परिचय पत्र दिने व्यवस्था गरिएको हो ।
शिक्षक कर्मचारी किताब खानाको १९ औँ वार्षिकोत्सवको अवसरमा शिक्षा मन्त्री गरिराजमणि पोखरेलले शुक्रबार ७ जना शिक्षकहरुलाई परिचयपत्र वितरण गरेर अभियानको शुरुवात गर्नुभएको छ । अबदेखि कितावखानाले शिक्षकहरुलाई यस्तो परिचय पत्र दिने छ । किताबखानाका महाप्रवन्धक शेरबहादुर ढुङ्गानाका अनुसार अबदेखि देशभरका करिब ४० हजार सेवा निवृत्त शिक्षकहरुलाई परिचयपत्र वितरण गरिने छ ।
शिक्षण पेशालाई अझ बढि ‘सामाजिक हैसियत’ प्रदान गर्न परिचयपत्र उपायोगी हुने बताईएको छ । ‘देशमा हुने महत्वपूर्ण परिवर्तनहरुमा अहम भूमिका निर्वाह गर्नुहुने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण अझै बन्न सकिरहेको छैन,’ कार्यक्रममा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, ‘यो कार्यक्रम शिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने समुच्च प्रणालीको एक सानो अंग हो ।’
उहाँले प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि उत्तरार्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित हुन पाउने अपेक्षा राख्ने प्रशंग उल्लेख गर्दै शिक्षकहरुमा पनि त्यस्तो चाहाना हुनु स्वाभाविक भएको बताउनुभयो । ‘तर त्यो सबै समस्या समाधान भएको छैन,’ मन्त्रि पोखरेलले भन्नुभयो, ‘हामी शिक्षा ऐन निर्माण गर्दै छौँ । यो पारित भएपछि सेवा निबृत्त शिक्षकहरुलाई पनि नयाँ काम दिनसकिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
मन्त्री पोखरेलले परिचयपत्र प्रदान गर्नु आफैमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै यो एउटा शिक्षकले जीवनभर गरेको सेवाको सम्भान तथा उसको पेशाप्रतिको सम्मान पनि भएको बताउनुभयो । ‘अब शिक्षकहरुले सिंहदरबार प्रवेश गर्दा नाम लेखाउनुपर्ने अध्यायको अन्त्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने छ ।’
महानिर्देशक ढुङ्गानाका अनुसार परिचयपत्र जीवन पर्यान्त प्रदान गरिने छ । ‘यो परिचयपत्र वर्षौँ सेवा गरेका शिक्षकको पहिचानको आधार हो, सम्मान र जीवनको आधार हो,’ ढुङगेलले भन्नुभयो, ‘एउटा शिक्षकले ६० वर्षमा सेवानिवृत्त भएपछि आफ्नो सम्पूर्ण परिचयपत्र विद्यालयमै छाड्नुपर्ने हुन्छ । त्यसपछि कहिकतै आफ्नो परिचान खुल्ने ‘परिचय पत्र’ बोक्न सक्नुहुन्नथ्यो । त्यसैले यस्तो व्यवस्था गरिएको हो । यो एउटा ऐतिहासिक काम हो ।’
सरकारी सेवाका सेना, प्रहरी, निजामति कर्मचारीले भने यस्तो परिचय पाउने गर्दछ ।