सिन्धुली, २६ चैत्र। सिन्धुलीको भूवनेश्वरी गाविस वडा नं. १, ७ र ९ मा आगलागीबाट बस्ति नै सखाप भएको छ ।
आज बिहान ११ बजेदेखि वडा नं. ९ को थाङ्ग्रे दलित बस्तिबाट सुरु भएको आगलागीबाट विद्यालयसहित ३५ घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्ने प्रयास गरीरहे पनि बेजोड हावा चलिरहेकोले आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम सिन्धुलीमाढीबाट नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानिय बासिन्दा खटिएका छन् । थाङ्ग्रे दलित बस्तिबाट सुरु भएको आगलागी फैलिँदै गई वडा नं. ७ मा रहेको कालिका प्राथमिक विद्यालय र धनसिंटोललाई सखाप पार्दै अहिले वडा नं. १ मा पुगेको भूवनेश्वरी गाविसका कार्यालय सहायक नबिन थापाले जानकारी दिनुभयो ।
आगालागी भएका सबै घरबाट खाद्यान्न, लत्ता कपडा, सुन चाँदी लगायतका सामान जलेर नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो । बारीबाट सुरु भएको आगालागी कसरि भयो, खुली नसकेको उहाँको भनाई छ । पीडित परिवारको उद्दारका लागि सदरमुकामबाट त्रिपाल र खाद्यान्न सामग्री लिएर आफू जान लागेको प्रमुख जिल्ला अधिकरी कार्कीले बताउनुभयो । आगालागी नियन्त्रण नभएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कपिलबस्तुको कुसहवा ४ मा भीषण आगलागी भएको छ । अहिलेसम्म १२५ भन्दा बढी घर जलिसकेका छन् भने अझै आगो नियन्त्रणमा आएको छैन ।
आगलागीमा परेर एक बृद्ध घाइते भएका छन् । घाइते हुनेमा ७० वर्षका लटेही रैदास छन् ।
लोध चमार र बुधही मुराउको घरबाट आगलागी सुरु भएको थियो । खाना पकाउने बेलामा बालेको आगो राम्ररी ननिभाएका कारण आगो लागेको बताइएको छ ।
तर, तौलिहवा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।