झापा, २३ चैत्र ।
सर्वाधिक नगद पुरस्कार राशिको झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देहीमाथि सहज जित निकाल्दै मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा पुगेको छ ।
मंगलबार भएको खेलमा मनाङका अफ्रिकन खेलाडी अफिज ओलावालेको ह्याट्रिकमा रुपन्देहीलाई ४–१ गोलको अन्तरले हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३३ औं मिनेटमा मनाङका सिसोकोले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४३ औं मिनेटमा मनाङकै अर्का अफ्रिकन खेलाडी अफिज ओलावालेले अर्काे गर्दै खेललाई २–० मा पुर्याए ।
खेलको दोस्रो हाफको ५० औं मिनेटमा विश्वास श्रेष्ठको पासमा उनले नै अर्काे गोल थपे । खेलको ६३ औं मिनेटमा ओलावालेले आफ्नो ह्याट्रिक पूरा गरे ।
खेलको सुरुवातदेखि नै रुपन्देही मनाङको दबाबमा परेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा रुपन्देहीका तर्फबाट पुकार गहतराजले एक गोल फर्काएका थिए । सेमिफाइनलमा मनाङले विहीबार नेपाल आर्मीको सामना गर्नेछ ।