काठमाण्डौ, २२ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने वा संसदको प्रक्रियामा जाने बिषयमा भईरहेको बिबादका बीचमा नअल्झीन आग्रह गर्नुभएके छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय नेता रामनाथ ढकालको प्रथम स्मृति दिवशका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘अध्यादेशबाट न्यायाधीश बनाउने कुरा आधारहीन हल्ला भएको बताउनु भयो ।
सरकार देशको एकता, विकास र समृद्धिका लागि प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले अनेक खाले हल्ला फिँजाउने कुरालाई सरकारले बेवास्ता गर्ने बताउनु भयो ।
‘वास्तविक समस्याको समाधान गर्न सरकार तयार छ तर नक्कली समस्या सिर्जना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई सरकारले पराजित गर्छ,’ प्रधानन्त्री ओलीले भन्नुभयो ।
सरकारले स्वाभिमानलाई बचाएर काम गर्ने कुरामा कुनै शंका नगर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गर्नुभयो ।
संविधान निर्माणका लागि स्वर्गीय नेता ढकालको ठूलो भूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले संविधानको उपभोग गर्न नपाउँदै ढकालको मृत्युले आफूलाई दुःखी बनाएको बताउनु भएको थियो ।
एमालेका नेता स्वर्गीय ढकालको एक वर्षअघि ‘स्वाइन फ्लू’बाट निधन भएको थियो ।