काठमाडौ ,२१ चैत ।
केन्द्रीय तथ्यांक विभागले सञ्चालन गरेको भूकम्प प्रभावित आवास पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आज सार्वजनिक गरिदैँछ ।
प्रारम्भिक चरणमा आज विवरण संकलन भइसकेकन विभिन्न आठ जिल्लाको सुची आज सार्वजनिक गर्ने तयारी भएको हो । सूचीमा परेकाहरुले मात्र सरकारले दिने भनिएको दुई लाख अनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छन् ।
अघिल्लो वर्ष भूकम्पपछि राहत वितरणका लागि गृह मन्त्रालयले वितरण गरेको परिचयपत्रप्रति अविश्वास जनाउँदै दाता र सरकारले तथ्यांक विभागमार्फत इन्जिनियर र सामाजिक परिचालक गाउँमा पठाएर पुनर्निमाणका लागि लगत संकलन गरेका थिए ।
प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँको सुची भने आज सार्वजनिक नगर्ने भएको छ ।
प्राधिकरणका अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।