काठमाण्डौ, ८ चैत्र । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक निर्णय विपरित न्यायपालिका क्षेत्राधिकार बाहिर जाँदा ठूलाठूला नोक्सानी भएको टिप्पणी गर्नुभएको छ ।
गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनसँग आबद्ध कानुन व्यवसायीले आज गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गर्नुभयो । उहाँले न्यायपालिका राजनीतिक निर्णय विपरित अघि बढेको बताए पनि उक्त विषयलाई स्पष्ट भने पार्नुभएन ।
न्यायपालिकामा समेत विकृति आउन थालेको समेत प्रचण्डको भनाइ छ । उहाँले भन्नुभयो, ‘न्यायपालिकामा समेत विकृति आउन थालेका छन् । ठूलाठूला राजनीतिक निर्णय विपरित न्यायपालिका क्षेत्राधिकार भन्दा बाहिर जाँदा नोक्सानी भएका उदाहरण पनि छन् ।’
संविधानमा समावेश गरिएका समावेशी, समानुपातिक व्यवस्था एवम् जनताका पक्षमा प्राप्त भएका अधिकारका आधारमा थप अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।
प्रचण्डले संविधानको पहिलो व्याख्याकार कानुन व्यवसायी भएकाले जनताका पक्षमा कानुनको व्याख्या गर्न व्यवसायिलाई सुझाव समेत दिनु भयो ।