काठमाडौ १७ चैत्र ।
नेपाली कांग्रेसले विधान संशोधन गरेर संसदीय दलको चुनाव गर्ने भएको छ । संसदीय दलको चुनावलाई लिएर बढ्दै गएको विवाद समाधान गर्न नेता रामचन्द्र पौडेल निवासमा आज बसेको बैठकले निर्वाचन अघि नै विधान संशोधन गर्ने निणर्य गरेको हो ।
तर विधान संशोधन भने कुन प्रक्रियाबाट गर्ने भन्ने बारेमा टुंगो नलागेको बताईएको छ ।
विधान संशोधन गर्ने प्रक्रियाबारे आजै थप छलफल हुने उहाँले जानकारी दिनुभयो । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा र पौडेल पक्षबिच संसदीय दलको चुनाव कसरी गर्ने भन्ने बारेमा विवाद बढेको थियो ।
संसदीय दलको चुनाव गर्नेबारे विवाद बढेपछि बिहान देउवा पक्षका गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का र विमलेन्द्र निधि छलफलका लागि पौडेल निवास पुग्नु भएको थियो ।
सभापति देउवाले विधान संशोधनको विषय र प्रक्रियाबारे सहमति जुटाउन उहाँहरुलाई जिम्मेवारी दिनु भएको छ । कांग्रेस संसदीय दलको चुनाव आउँदो २४ गतेलाई तोकिएको छ ।