चेपाङ वस्तीमा अनिकाल

चेपाङ वस्तीमा अनिकाल

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चितवन, १६ चैत ।

कोराकका ४९ वर्र्षीय भीमबहादुर चेपाङको चुलो दैनिक नबलेको पाँच महिना नाघेको छ । गएको असोजमा घरको खाद्यान्न सकिएपछि मेलापातबाट आएको पैसाले एकछाक टरे पनि अर्काे छाक जङ्गली कन्दमूल र सागसब्जीले टर्दै आएको छ ।

भीमबहादुर प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, जिल्लाको पहाडी गाविसका अधिकांश चेपाङ समुदायको पीडा एउटै रहेको छ । वर्षभरी आफ्नैबारीमा उब्जिएको खाना पाउनेको सङ्ख्या निकै कम छ ।

सिद्धि गाविस– ४ का ज्ञानबहादुर प्रजाको परिवारलाई ६ महिना आफ्नैबारीको अन्नले पुगेपनि दुई महिना निबेक ज्यालामा दिन टर्दै आएको छ । निवेकले दुई छाक कठिन हुने बताउँदै उहाँले वनको गिठ्ठा, तरुल, सिस्नो, टाँकी, न्यूरो, जलुको जस्ता कन्दमूल र सागसब्जिले दैनिकी टरेको बताउनुभयो ।

भूकम्पले घर भत्किएपछि अझैसम्म पालमुनि बास बसिरहेको बताउँदै प्रजाले भन्नुभयो “खाने छैन, बस्ने ठाउँ पनि छैन, यो भन्दा दुःख अरु के हुन सक्छ ।” कोराक दोबाटेका ५५ वर्षीय डिल्लीराज प्रजाको आफ्नैबारी नभए पनि खेती गरेको ऐलानी जग्गाको आम्दानीले ६ महिना पनि पुग्दैन । चार छोरा र ६ छोरीका बाबु प्रजा आजभोलि छोराछोरीको निबेकले घर धान्न थालेको बताउनुहुन्छ ।

उहाँका छोराछोरी जिल्लाकै तराईमा झरेका छन्, उनीहरुको कमाइले नै घरखर्च जेनतेन चलेको छ । जिल्लामा २९ हजार चेपाङ बसोवास गर्छन् । नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङ पहाडी क्षेत्रमा बसोवास गर्दै आएका चेपाङले निकै कष्टकर जीवन बिताइरहेको बताउनुहुन्छ । उनीहरु अहिले अनिकालबाट गुज्रिरहेका छन् ।

“जिल्लामा रहेका चेपाङ समुदायमध्ये २५ प्रतिशतलाई तीन महिना मात्र आफैँले कमाएको बारीको अन्नले खान पुग्छ,” उहाँले भन्नुभयो । अध्यक्ष चेपाङका अनुसार पचास प्रतिशतलाई ६ महिना, १२ प्रतिशतलाई नौ महिना खान पुग्छ भने वर्षभरी खान पुग्नेको सङ्ख्या १३ प्रतिशत मात्रै छ ।
जिल्लाका ८५ प्रतिशत चेपाङ सुकुम्बासी छन् । बाबुबाजेको पालामा डाँडामा झुप्रो हालेर बसेका चेपाङले विसं २०२६ मा नापी हुँदा थाहा नपाएकै कारण आजसम्म सुकुम्बासी जीवन बिताउँदै आएका छन् । जिल्लाका सिद्धि, लोथर, कोराक, शक्तिखोर, काउले, चञ्डिभञ्ज्याङ, कविलास, दाहाखानी र दारेचोकमा चेपाङ समुदायको बसोवास रहेको छ ।

चैतदेखि असारसम्म मुख्य रुपमा चेपाङ समुदायले खाद्य सङ्कट झेल्ने गरेको सङ्घका जिल्ला सचिव भीमबहादुर चेपाङ बताउनुहुन्छ । कोराकको किरनटार प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिलाल प्रजा अधिकांश बालबालिका भोकै स्कुल आउने गरेको बताउनुहुन्छ । “स्कुलमा खाजा कार्यक्रम भएकाले बालबालिका स्कुल आउने गरेका छन्, तर घरमा अधिकांश भोकभोकै बस्छन्” उहाँले भन्नुभयो ।

असोज महिनायता पहाडी क्षेत्रका प्राथमिक विद्यालयमा खाजा दिन थालिएको छ । खाजाकै कारण विद्यार्थी विद्यालय आउने क्रम बढेको छ । महिनामा एक दिन मासु, र दैनिक रुपमा पालो गरी केराउ, चना, सागपात, आलु, चिउरा, जाउलो जस्ता खानेकुरा बालबालिकालाई खुवाउने गरिएको प्रधानाध्यापक प्रजा बताउनुहुन्छ ।

जिल्लाको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । धेरैजसोसित आफ्नै जग्गा छैन । चेपाङ जातीको सङ्ख्या नेपालमा ६८ हजार रहेको तथ्याङ्क छ । उनीहरुको चितवनसहित मकवानपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, बाँके र बर्दियामा बसोवास रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ