काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा लागेको भन्दै अब आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकको संयुक्त आयोजनामा राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुदै उहाँले नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको बताउनु भयो ।
अब राष्ट्रको एजेण्डा भनेको आर्थिक सम्बृद्धि सहितको समानतामूलक समाज भएको प्रधानमन्त्रीको भनाई थियो ।
दुई वर्षभित्र मुलुकलाई लोडसेडिङबाट मुक्त गरी विकासको दु्रत मार्गमा प्रवेश गराउने आफूहरुको चाहना भएकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कृषि, उद्योग र सेवाको क्षेत्र विस्तार गरी मुलुकलाई आत्मनिर्भर बनाउन अब धेरै समय नलाग्ने बताउनु भयो । पौडेलले सन् २०३० सम्ममा गरिबीलाई दोहोरे अंकबाट एक अंकमा झारिने दावी समेत गर्नुभयो ।